कोरोना भाईरस (कोभिड–१९) का कारण सबैं क्षेत्र अस्तव्यस्त छ । सबैं क्षेत्रमा उत्तिकैं समस्या छ । कार्यस्थलमै पुगेर र सूचना संकलन गर्ने क्रममा हामी पत्रकारहरु झनैं जाखिममा पर्ने छौं । जोखिम र चुनौंतीको सामना गर्दै सहि सूचना र समाचार दिनु हाम्रो दायित्व पनि हो । नुवाकोटमा पनि पत्रकार साथीहरु संक्रिमत हुन थाल्नुभएको जानकारी प्राप्त गरेका छौं । होम आइसोलेसनमा बसिरहनुभएका उहाँहरुको स्वास्थ्य अवस्था सामान्य छ । तपाईको अवस्था के कस्तो छ, हामीलाई जानकारी गराउनुहुन अनुरोध छ । संक्रमित हुनुहुन्छ भने के कस्तो सहयोग आवश्यक परेको छ त्यो पनि जानकारी दिनुहोला । जिल्ला शाखाको तर्फबाट हुनसक्ने र हुने सबै किसिमको सहयोग गर्न हामी सदैंव तयार छौं । साथै व्यक्तिगत रुपमा पनि म यसमा हरदम लागिरहने छु ।

साथै हामीले गत वर्ष गरेको कोभिड–१९ बीमाको म्याद २०७८ साल जेठ ३ गतेसम्म मात्रै छ । ९५ जना साथीहरुको जनही एक÷एक लाख रुपैयाँको बीमा गरिएको तपाईलाई जानकारी नैं छ । यस अघि १३ जना पत्रकार साथीहरु संक्रमित भइसक्नुभएकोमा अधिकांशको बीमा रकम भुक्तानी भइसकेको छ । दुई जना साथीहरुको बीमाको दाबी रकम आजभोलिमै भुक्तानी हुन लागेको सिद्धार्थ इस्योरेन्स कम्पनीबाट जानकारी प्राप्त गरेका छौं । तपाई यो पछिल्लो चरणमा संक्रमित हुनुहुन्छ भने हामीलाई तत्कालै सम्पर्क गर्नुहुन पनि अनुरोध छ । आवश्यक कागजात बनाएर बीमा रकम भुक्तानीका लागि छिट्टै दाबी गर्न थाल्ने छौं ।

पछिल्लो समय बढ्दो संक्रमण र अस्पतालमा अभाव हुँदै गएको बेडका कारण पत्रकार साथीहरुका लागि मात्रै छुट्टै आइसोलेसन (समाचार लेख्न र सप्रेषण गर्न अनुकुल हुने व्यवस्था सहितको) स्थापना गर्ने विषयमा छलफल चलिरहेकै छ । तर बेग्लै आइसोलेसन तयार गर्नका लागि आवश्यक पर्ने स्वास्थ्य र भौतिक मापदण्ड अनि श्रोत साधनका कारण यो बढी गृहकार्य गर्नुपर्ने विषयको रुपमा देखा परेको छ । तपाई अहिले संक्रमित हुनुहुन्छ र होम आइसोलेसनमा बस्नका लागि समस्या छ भने हामीलाई तुरुन्तै खबर गर्नुहोला, हामी तत्कालनै ब्यवस्थापन गर्नेछौं ।

सकेसम्म घर बाहिर निस्कदै ननिस्किऔं । नुवाकोटमा जारी रहेको निषेधाज्ञाका कारण निस्कनै परेमा आफ्नो सञ्चार गृहको परिचय–पत्रको प्रयोग गरौं । जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट जेठ १९ गते जारी भएको सूचनामा समाचार संकलन र सम्प्रेणका लागि सूचना विभागले जारी गरेको परिचय पत्रका आधारमा हिडडुल गर्न दिने उल्लेख भएपनि प्रमुख जिल्ला अधिकारीलाई जिल्लाको हाकमा सम्वन्धित सञ्चार गृहको परिचय पत्रका आधारमा कार्यस्थलमा आउजाउ गर्न दिने अनुरोध भएको छ । तपाईलाई कार्यस्थलमा निस्कदा चेकजाँचमा समस्या भए तत्कालै सम्पर्क गर्नुहुन पनि अनुरोध छ ।

तर ध्यान दिऔं :
– आफू सुरक्षित रही समाचार सम्प्रेषण गरौं ।
– कार्यस्थल (कार्यालय वा फिल्ड) मा जाँदा रोकथामका आधारभूत उपायहरु अपनाऔं ।
– सकेसम्म प्रविधि प्रयोग गरेर काम गरौं ।
– सञ्चारगृहहरुले सम्भव भएसम्म घरबाटै काम गर्ने वातावरण मिलाऔं ।
– अत्यावश्यक बाहेकका भेट नगरौं ।
– स्वास्थ्यको ख्याल गरौ, माक्स लगाउ, साबुन पानीले नियमित रुपमा हात धुने गरौ ।

सम्पर्क : अध्यक्ष कपिलदेव खनाल (९८५१०९३२९०) सचिव जगदीश खनाल (९८५१०८०१२२)
ईमेल : nuwakotfnj@gmail.com

कपिलदेव खनाल
अध्यक्ष
नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोट