नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटले पत्रकार किरणप्रसाद अधिकारीलाई उपचारका लागि आर्थिक सहायता उपलब्ध गराएको छ । हर्नियाको अप्रेसर गरेका पत्रकार अधिकारीलाई महासंघका पदाधिकारी घरमै पुगेर १० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको अध्यक्ष कपिलदेव खनालले जानकारी दिनुभयो । 

अघिल्लो साता काठमाडौंमा अप्रेसन गरेर बिदुरको ढुङ्गे स्थित घरमा आराम गरिरहनुभएका अधिकारीलाई महासंघले उपचारमा सहयोग हुने भन्दै उक्त रकम प्रदान गरेको हो । अधिकारी नेपाल प्रेस युनियन नुवाकोटको अध्यक्ष तथा सुन्दरादेवी सन्देश साप्ताहिकका कार्यकारी सम्पादक हुनुहुन्छ । 

यसै बीच, बुधवार सम्पन्न नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटको बैठकले पुस २३ गतेबाट पाँच दिने आधारभूत पत्रकारिता तामिल सञ्चालन गर्ने निर्णय गरेको छ । जिल्लाका रेडियो, टिभी, पत्रपत्रिका तथा अनलाईनमा कार्यरत प्रशिक्षार्थी पत्रकारहरुलाई पत्रकारिता र समाचार लेखनको आधारभूत सिप दिनको लागि तालिमको आयोजना गरिएको हो । 

बैठकले नयाँ सदस्यता दिन चाहानेहरुलाई आवेदन दिन पनि आब्हान गरेको छ । पुस २७ गतेसम्म प्रक्रृया पुरा गरेर नयाँ सदस्यताको लागि निवेदन दिन र पुराना पत्रकारहरुलाई आफ्नो सदस्यता नविकरणका लागि पनि नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटले आग्रह गरेको छ ।