Press Release

‘समाचार संकलनको सहज व्यवस्था मिलाऊ’


नेपाल पत्रकार महासंघले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतदानका दिन तथा मतगणनाका बेला सञ्चारकर्मीलाई समाचार संकलन र छायाकंनको सहज व्यवस्था मिलाउन निर्वाचन आयोगलाई आग्रह गरेको छ ।

महासंघले मंगलबार विज्ञप्ती निकाल्दै निर्वाचन प्रयोजनका लागि पत्रकारले प्रयोग गर्ने सवारी साधनलाई सवारी पासको उपलब्धतामा पनि सहजता कायम गर्न आग्रह गरेको छ । महासचिव रमेश विष्टले सबैसँग सूचना विभागको प्रेस पास नरहेकाले वैकल्पिक परिचपयत्रका आधारमा समेत सवारी पासको व्यवस्था मिलाउनुपर्ने बताए ।

निर्वाचनको बेला मुलुकमा प्रेस स्वतन्त्रताको अवस्था र पत्रकारले समाचार संकलनमा भोगेको कठिनाईहरु बुझ्न सातवटै प्रदेशमा महासंघले टोली पठाई अध्ययन समेत गरेको छ ।

जिल्ला जिल्लामा सवारी पासको उपलब्धतामा, मतदानका दिन र गणनाका बेलाको समाचार संकलनमा पत्रकारले समस्या भोगेको जस्ता गुनासाहरु प्राप्त भएको महासंघका उपाध्यक्ष दिलिप थापा मगरले बताए ।

मंसिर २१ गते मुलुकमा ऐतिहासिकरूपमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न हुादै छ । यो निर्वाचनले संक्रमणकालको विधिवत अन्त्य भई संविधानसभाबाट जारी भएको संविधान पूर्ण कार्यान्वयनको बाटो खुल्ने विश्वास महासंघले लिएको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, लोकतान्त्रिक शासन व्यवस्था र विधिको शासनका पक्षधर आमनेपाली सञ्चारकर्मीहरूको तर्फबाट महासंघ निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहितढंगबाट सम्पन्न होस भन्ने शुभकामना व्यक्त गर्दछ । निर्वाचनको क्रममा केही हिंसात्मक घटनाहरू घटेकाले पत्रकारको सुरक्षामा समेत विशेष ध्यान दिन महासंघले सरकारसँग आग्रह गरेको छ ।

महासचिव विष्टले जारी गरेको विज्ञप्तीमा सञ्चारकर्मीलाई निर्वाचन र पत्रकार आचारसंहिताको पालना गर्दै ऐतिहासिक निर्वाचनको समाचार संकलन र सम्प्रेषण गर्न आह्वान समेत गरिएको छ । महासंघले निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित ढंगले सम्पन्न हुने शुभकामना समेत व्यक्त गरेको छ । -कान्तिपुर

प्रकाशित: मंसिर १९, २०७४




Feedback

Copyright © 2019 FNJ Nuwakot. All Rights Reserved. Powered by: Trishuli Web